म माओवादी केन्द्रमै छु : विशाल लामा (विज्ञप्तीसहित)

संवाददाता
९ बैशाख २०७८, बिहीबार २०:०४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटी सदस्य दोर्जे लामा (विशाल) ले आफू माओवादी केन्द्रमा नै कृयाशील रहेको बताएका छन् । शुक्रबार उनले एक विज्ञप्ती जारी गर्दै आफू माओवादी केन्द्रमा नै कृयाशील रहेको उल्लेख गरेका हुन् ।

विगत लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नीति, विचार, सिद्धान्तमा प्रतिवद्ध भई सकृयतापूर्वक संगठनमा कृयाशील भई भूमिका निर्वाह गर्दै आएकोमा यसअघि बुधबार भुलवश नेपाल कम्युनिष्ट पार्टी एमाले (केपी ओली समूह) मा प्रवेश हुन पुगेको लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी सदस्य लामाले आफूले गम्भीर आत्मसमीक्षा सहित प्रतिगामी कदमलाई साथ र समर्थन गर्न नसकिने निर्णय गरेको र आफू आवद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा नै रही कृयाशील रहने प्रतिवद्धता विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्ती सार्वजनिक गर्ने क्रममा संक्षिप्त कुराकानी गर्दै उनले भने – “म माओवादी केन्द्रमै छु, रहनेछु, क्षणिक निर्णयमा प्रभावित भएर अघि बढ्दा भुल हुन पुग्यो, व्यक्तिगत रुपमा यसको गम्भीर आत्मसमीक्षा गरेको छु ।” उनले आगामी दिनमा आफूबाट यस्तो भूल नहुने समेत बताए ।

विज्ञप्ती सार्वजनिक गर्ने क्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ललित घलान, जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), विवेक राई, जिल्ला कमिटी सदस्य लिलाकुमार घलान, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थ थापा मगरसहतिको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*