त्रिभवन आर्मी क्लब लगातार तेस्रो बराबरी

मकवानपुर । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लबसँग १-१ गोलको लगातार तेस्रो बराबरी खेलेको छ।
दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए। ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गरेपनि केही मिनेटमै एपीएफ बराबरीमा फर्किएको थियो।
६७ औँ मिनेटमा एपीएफका बिक्की तामाङले गोल गरेका थिए। लगातार बराबरीपछि आर्मीलाई उपाधि होडमा गम्भिर धक्का लागेको छ। ७ खेलबाट ११ अंक भएको आर्मी तालिकाको चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबको ६ खेलबाट १४ अंक छ। समान खेलपछि मनाङ मस्र्याङ्दीको १३ र संकटाको १२ अंक छ।
पाचौँ स्थानमा रहेको सातदोबाटो युथ क्लबको ६ खेलबाट ८ अंक छ। आर्मीले प्रतियोगितामा २ जित र ५ बराबरीको नतिजा निकालेको छ ।