बागमती प्रदेशमा १० दिनमै १२ गुणाले बढ्यो कोरोना संक्रमण

संवाददाता
२ माघ २०७८, आईतवार १४:३९

मकवानपुर । बागमती प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । प्रदेशमा पछिल्लो १० दिनमा मात्र कोरोना संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस २० गते बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २५३ थियो भने पुस ३० गतेसम्म आइपुग्दा कोरोना संक्रमीतको संख्या बढेर ३ हजार ८९ पुगेको छ ।

पुस २१ गते बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस यता, पुस २२ मा ३५० जना, पुस २३ मा ४३० जना, पुस २४ मा ५३६ जना, पुस २५ मा ६६२ जना, पुस २६ मा ९८६ जनामा संक्रमण देखिएको थियो ।

बागमती प्रदेशमा पुस २७ गतेबाट कोरोना संक्रमितको संख्या ४ अंकमा प्रवेश गरेको हो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस २७ गते १ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको थियो । यो पुस २० को तुलनामा करिव ६ गुणा बढी हो ।

पुस २८ गते कोरोना संक्रमणको दर बढेर १ हजार ८५१ जनामा पुग्यो । पुस २९ गते संक्रमितको संख्या २ हजार नाघेको थियो । पुस ३० गतेसम्म आइपुग्दा बागमती प्रदेशमा कोरोना संक्रमणको दर ३ हजारभन्दा बढी पुगेको छ । यस दिन प्रदेशका ३ हजार ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो संख्या पुस २० को तुलनामा १२ गुण भन्दा बढी हुन आउँछ । यस्त,ै माघ १ गते प्रदेशभर २ हजार ८०४ जनामा संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा कोरोना भाइरसका अधिकांश सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेका छन् ।

कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा बसेका छन् । अन्य संक्रमित भने प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*