आउनुस् यौटा नयाँ प्रण गरौं !

खोजराज गोले
म यस्ता हुत्तिहारा अभियन्ता मित्रहरूका बीचमा परेको छु
जो सामाजिक सञ्चालमा फोहोर्याउँछन्/बिष्ट्याउँछन्
व्यवहारमा बारबार चुकिरहन्छन्
कोही अगुवाका सामू झुकिरहन्छन् ।।
म यस्ता तरमारा नेताका भोटर बनेको छु
जो शासक बन्ने रहरमा विदेशीका गोटी बन्छन्
प्रभुका चरणमा शीर अर्पण गर्न लालायित रहन्छन्
देश अन्यलार्इ सुम्पन न्वारनदेखिको बल लगाउँछन् ।।
म यस्ता साहित्यकारका साथी भएको छु
जो रचनात्मक, सिर्जनात्मक र आशावादी हुने रहरमा
आफ्नै मुटुमा छुरी रोप्छन्
मनको बेथा र सामाजिक यथार्थलाई झूट मान्छन्
ताम्सालिङ माग्न तामाङ मौलिकताको मुण्टो निमोठ्छन् ।।
म यस्ता पत्रकारहरूका भूतपूर्व साथी भएको छु
जो ताम्सालिङको लागि लड्दै आएका छौं भन्दै
तामाङ मौलिक जिब्रो छिनाउँदै
ताम्सालिङका जरा खोतल्छन्
मूलधारको सपनामा आफैलाई लिलामीमा राख्छन् ।।
म यस्ता कलाकार/गीतकार/सङ्गीतकार
गायक/गायिका/सेलिब्रेटीका दर्शक/श्रोता भएको छु
जो बर्थडे भन्दै केक काट्दै
मैनबत्ती बालेर फुक्तै निभाउँदै
अमेरिकी ह्वाइट सुप्रिमेसीको पाउमा लम्पसार पर्छन्
एक पटक छिर्न पाम् प्रभु भन्दै येशुको
भक्तिगान सुनाउँछन् ।।
म यस्तो देशमा छु
जो विकासको नाममा विनास गर्नुलाई पौरख सम्झन्छ
उर्वरभूमिमा कङ्क्रिट छरेर शहर उमार्छ
समृद्धिको सपना देखाउँदै इतिहास लुट्नुमा माहिर छ ।।
म यस्ता न्यायामूर्ति/न्यायालयसामू
जीवनको लागि अन्तिम भीख मागिरहेको छु
जो नक्कली प्रमाणपत्र पेश गरेर न्यायाधीश भएका समाचार पढ्नुपर्छ
अदालतभित्र सेटिङ मिलाउँदै बिचौलियाका भूमिका निर्वाह गर्न लाज मान्दैन
जो मन्त्री पदको लागि सम्झौतामा न्याय प्रदान गर्छ
चोर, हत्यारा र बलात्कारीलाई सफाइ दिन्छ
निर्धा, निमुखा साथै असायहका जीवन छिन्छ ।।
म यस्ता लेखकहरूका भीडमा चेपिएको छु
जो लेख्नको लागि लहडमा लेख्छन्
भएको फिटिक्कै देख्दैनन् ।
नभएको नभएको देख्छन् र लेख्छन् ।
यस्तो र उस्तो भन्दै दावी गर्छन्
अन्ततः ह्वाङ्गै नाङ्गै सर्वाङ्गै भएर
लाजलाई पनि पानी पानी पार्न सकेकामा गर्व गर्छन् ।।
म आफै पनि यस्तै छु
जो आधा गाग्री ज्ञानको पानी बोकेर
भीरको बाटोमा आँखा चिम्लेर कुद्न खोज्छ
कुद्न खोज्दैमा लड्छ र उठ्न खोज्दैमा जिन्दगी समाप्त पार्छ
अन्तिम सत्यको बोधसँगै मलामी कमाउने सपना देखिरहन्छ
लोकाचारलाई बेवास्ता गर्दै खै के के लेखिरहन्छ ।।
ओ साथी तिमी साँच्चैको तमङ (तामाङ) हौ भने
आऊ खोजौं- असली अभियन्ताहरूलाई ।।
आऊ भेटौं मुक्तिदाताहरूलाई !!
रिमठिमका ज्ञाता साहित्यकारहरूका साथमा उभिऔं !
पत्रकार, कलाकार र सेलिब्रेटीहरूका मथिङ्गलमा
तामाङ ठिम, ठिगर र सौन्दर्यशास्त्रहरूले भरौं !
विउपनिवेशलाई आधार बनाउँदै
हामी को हौं र को होइनौं भन्ने तथ्यलाई चिनाैं
आउनुस् यौटा नयाँ प्रण गरौं !!