बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरुवात

संवाददाता
२९ फाल्गुन २०७८, आईतवार ०६:०८

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रथम खेलकुद प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् । उनले सात प्रदेश मध्ये खेलकुद कार्यक्रम सञ्चालन गर्ने पहिलो प्रदेश भएकोमा बागमती सरकारले गौरबको अनुभूति गरेको बताए ।

हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुति, विद्यार्थीको ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, तामाङ, नेवाः, थारु समुदायको झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा हेटौंडामा मिनी रंगशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा ८ वटा खेल हुनेछ । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन तथा चैत ५ गते तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

प्रतियोगिता अन्तर्गत मकवानपुरमा आइतबार पुरुषतर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट स्वरुपमा हुनेछ ।

त्यस्तै, सिन्धुपाल्चोकमा चैत ७ गते कराँते सुरु हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यसैगरि काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रुपैयाँ खर्च हुने अनुमान प्रदेश सरकारको छ । यो प्रतियोगितामा विभिन्न खेलका गरी दुई हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । खेलको समापन १२ चैतमा काभ्रेको धुलिखेलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*