पक्राउ परेका स्थानीय छुटेसँगै रिद्धिसिद्धि सिमेण्ट उद्योग खुल्यो

स्थानीय व्यवसायीको माग सम्बोधनकालागि समिति गठन
संवाददाता
१० असार २०७९, शुक्रबार १८:३४

मकवानपुर । सामान्य विवादका क्रममा स्थानीयलाई प्रहरी लगाएर पक्राउ गरिएको विरोधमा हेटौंडा–१५ स्थित दुई दिनदेखि बन्द रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योग पक्राउ परेकालाई रिहा गरेपछि शुक्रबारदेखि खुलेको छ ।

विवादपश्चात गत बुधबार ढुवानी व्यवसायी समेत रहेका स्थानीय विक्रम दोङलाई उद्योग प्रशासनले प्रहरी बोलाएर पक्राउ गरिएको थियो । छलफलका क्रममा विवाद हुँदा उद्योगका कर्मचारी पीआरओ अच्युत पराजुलीसँग दोङको धकेलाधकेल भएको स्थानीयले बताएका छन् । पक्राउ परेका दोङ शुक्रबार १० हजार रुपैयाँ धरौटीमा रिहा भएपछि उद्योगको आयात निर्यात खुलेको स्थानीय ढुवानी व्यवसायी उमेश स्याङबोले बताए ।

भारतीय गाडीमार्फत उद्योगको कच्च पदार्थ आयात गर्दा स्थानीय ढुवानी व्यवसायीलाई मार परेको, हाल पटक पटक भइरहेको इन्धनको मूल्य वृद्धि अनुसार ढुवानी भाडा समायोजन हुनुपर्ने लगायतका माग उद्योग समक्ष व्यवसायीले राखेका थिए । सोही क्रममा विवाद भएको बताइएको छ ।

शुक्रबार स्थानीय ढुवानी व्यवसायी र उद्योग प्रशासनबीच उद्योगमा भएको छलफलबाट व्यवसायीको माग सम्बोधन गर्न समिति गठन गरिएको र उक्त समितिको अध्ययन पश्चात एक हप्ताभित्र सबै माग सम्बोधन गरिने सहमति भएको भोर्लेका अर्का स्थानीय ढुवानी व्यवसायी गोपाल भ्लोनले जानकारी दिए ।

शुक्रबार भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने, अर्का प्रतिनीधि उज्जवल चौंलागाँई, उद्योग प्रशासन प्रमुख टेकबहादुर गुरुङ, स्थानीय ढुवानी व्यवसायीसहितको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*