सहमतिसँगै हेटौंडा उपमहानगरको नगर सभा आज हुँदै

मकवानपुर । नेकपा एमालको अनुपस्थितिका कारण यसअघि स्थगित हेटौंडा उपमहानगरपालिकाको नगर सभा सञ्चालन गर्ने सहमति भएको छ । नगर सभाका सदस्यको एक समूहले बजेट निर्माणको प्रक्रिया नै विधिसम्मत नभएको भन्दै शुक्रबारका लागि तय गरिएको नगर सभामा उपस्थिति जनाउन नमानेपछि नगर सभा प्रभावित भएको थियो । सहमतिसँगै अहिले केहीबेरमा होटल एभोकाडोस्थित नगर सभा शुरु हुँदैछ ।
असन्तुष्ट समूहले पेश गरेको नगर सभा सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीमाथि संशोधन प्रस्तावलाई उपयुक्त समयमा छलफल गर्ने सहमति भएको नगरपालिका स्रोतले जानकारी दिएको छ । यस्तै विषयगत समितिमार्फत नीति, कार्यक्रम र बजेट तयार हुनुपर्ने माग तत्काल पूरा नभए पनि नीति, कार्यक्रम र बजेट पर्याप्त समय लिई छलफल गरेर पारित गर्ने सहमति भएको जनाइएको छ ।