मकवानपुरमा काङ्ग्रेसको बीउ जोगाएका बानियाँको जीत, मुख्यमन्त्री दावी

संवाददाता
८ मंसिर २०७९, बिहीबार ११:२१

मकवानपुर । मकवानपुर प्रदेशसभा २ (२) मा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ विजयी भएका छन् । उनले नेकपा एमालेका लाल बहादुर थापालाई मत १७ सय ८२ मत अन्तरले पराजित गरे । उनले १८ हजार ७ सय १६ मत प्राप्त गरेका छन् । थापाले १६ हजार ९ सय ३४ मत प्राप्त गरे ।
यस क्षेत्रमा ४० हजार ५ सय ९९ मत खसेको थियो ।

उनले निर्वाचन जितेलगतै आफू बागमती प्रदेशको मुख्यमन्त्रीको दावेदार रहेको बताएका छन् ।

२०१५ सालको आम निर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको ५१ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकमा एउटा काँग्रेसी पुस्ताले नै मकवानपुरमा त्याग र समर्पणको राजनीति गर्नुप¥यो । काँग्रेस मकवानपुरका जिल्ला सदस्य रहेका इन्द्र बानियाँले ५५ वर्षपछि मकवानपुर १ मा २०७० को निर्वाचनमा काँग्रेसको पुनः बिउ रोप्न सफल भएका थिए । तत्कालिन समयमा काँग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले बामपन्थीको गढ मानिएको मकवानपुरमा काँग्रेसलाई ‘क्लिन स्विप’ हुनबाट जोगाएका थिए ।

२०७४ मा मकवानपुर २(ख) बाट उनी बामपन्थी गठबन्धनका उम्मेदवार नेकपा एमालेका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भए । उनले १९ हजार २ सय ४५ मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरे । यी क्षेत्रमा ४० हजार ३ सय १२ मत खसेक थियो ।स्याङ्तान २०७० सालमा मकवानपुर २(ख) रहेको साविक मकवानपुर ४ बाट सांसद निर्वाचित भएका थिए ।

प्रमाणपत्र तहसम्म अध्यनन गरेका बानियाँ सांसद सँगै सफल ब्यवसायी पनि हुन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीमा बुवा क्षेम बहादुर बानियाँ र आमा प्रेम कुमारी बानियाँको कोखबाट जन्मिएका उनी ३३ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

२०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति हुँदै उनी राजनीतिमा प्रवेश गरेका थिए । २०५१ मा नेविसंघ जिल्ला सह सचिव, २०५३ मा तरुण दल मकवानपुरको सचिव, २०५६ मा तरुण दल मकवानपुरको सभापति र २०५१ देखि निरन्तर काँग्रेस महासमिति सदस्य रहेका बानियाँ २०७२ मा नेपाली काँग्रेस मकवानपुरको सभापति निर्वाचित भएका थिए ।

२०७० मा मकवानपुर १ बाट संविधानसभा सदस्य निर्वाचित भएपछि उनी २०७३ मा संस्कृति पर्यटन तथा नगरिक उड्यन राज्य मन्त्री र २०७४ मा गृह राज्यमन्त्री बन्न सफल भए । उनी बागमती प्रदेशसभामा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता पनि थिए । हाल उनी नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*