विजय जुलुस र भोजभतेर गर्ने पैसाले जनताको घरमा जस्तापाता हाल्छु : सुदन किराती

संवाददाता
९ मंसिर २०७९, शुक्रबार १५:०७

नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै माओवादी केन्द्रका नेता सुदन किराँती भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

किराँती २०६४ साल र २०७४ सालमा पनि निर्वाचित भएका थिए । उनै किराँतीलाई राईले २०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित गरेका थिए । आफू निर्वाचित भएसँगै किराँतीले विजय जुलुस र भोजभतेर नगर्ने बताएका छन् । निर्वाचनको अन्तिम मत परिणाम बिहीबार साँझ सार्वजनिक भएसँगै उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै भोजभतेर र विजय जुलुस निकाल्ने पैसाले फुसको घर भएका जनताको घरमा जस्ता लगाइदिने बताएका छन् ।

‘विजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फूसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु,’ उनले विजय भएपछि जनतालाई धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘जिन्दावाद ! र मुर्दावाद ! को नारा लगाउँदै समय,शक्ति र सम्पति खर्च गरेर विजयसभा नगर्ने निर्णय गरेको छु ।’

उनले कुराकानीका क्रममा पनि जनताको घरघरमा गएर जनताकै काम गरेर (श्रम अभियान) विजय जुलुस मनाउने पनि बताए । ‘म जनताको घरदैलोमा जाने र श्रम अभियानमा जोडिने निर्णय गरेको छु,’ उनले रातोपाटीसँग भने, ‘पुरानो तरिकाले भएन,काम गर्नुपर्यो,श्रमसँग जोडिनु पर्यो भन्ने सोच बनाएको छु ।’

किरातीले आफूहरु निर्वाचनमा विजयी भएपनि जनतामा व्याप्त भोक,अशिक्षा र भ्रष्टाचार जस्ता महाशत्रुलाई पराजित नगरी र जनजिविकामा आम जनताको अधिकतम पहुँच वृद्धी नगरेसम्म विजयी हुन नसक्ने पनि बताएका छन् ।

‘राजनीतिमा राणा शासन ढालियो,राजा ढालियो,कहिले काँग्रेस ढालियो,कहिले कम्युनिष्ट ढालियो । तर,आफैं भित्रको मुख्य शत्रु ढाल्न अझै सकिएको छैन । अब आफै भित्रको ति शत्रुमाथि निर्ममतापूर्वक प्रहार गरी विजय प्राप्त गर्नुछ,’ किराँतीले जनतालाई सम्बोधन गर्दै भने, ‘तपाईहरूलाई धन्यवाद ! प्रदान गर्न श्रमसँग जोडिएर गाउँ आउनेछु ।’ जनताले मत दिएर जिताएको कारण अब आफू मन दिएर काम गर्ने र जनतालाई विश्वास र भरोसा दिने,कहिल्यै धोका नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

को हुन् सुदन किराँती ?

नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराती पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका थिए । वि.सं. २०३५ साल फागुन १२ गते बाबु हर्कबहादुर राई र आमा स्व. रक्षाकुमारी राईको कोखबाट सुदन किरातीको जन्म भएको हो । बाबु बेलायत आर्मी भएकाले सुदनको जन्म हङ्कङ्मा भएको थियो ।

रामप्रसाद राई गाउँपालिका–१ भोजपुरका स्थायी बासिन्दा सुदनको विना राईसँग विवाह भएको हो । उनीहरूका एक छोरा छन् । २०५४ सालमा सुदनले कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिएका हुन् । उनी २०६४ मा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७० सालमा परातिज बने । पुनः २०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका उनी अहिले पुनः भोजपुरबाटै प्रतिनिधिसभाका उम्मेदवार छन् ।

राजनीतिक जीवनी

–२०४६ सालको प्रजातन्त्रसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध

–२०५० मा स्कुलमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष

–विभिन्न राजनीतिक मुद्दा व्यहोर्दै २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित

–२०५८ बाट पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश

–२०६१–६३ मा माओवादीसँग एकतासँगै सगरमाथा जनकपुर क्षेत्रीय व्यूरो सदस्य

–सेनाको व्यारेक र विभिन्न जेलको बसाई,शान्ति प्रक्रियापछि जेलमुक्त,जेल जीवन करिब २३ महिना

–मेची कोशी व्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव,किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव,अध्यक्ष

–भोजपुर जिल्ला पार्टी अध्यक्षका साथै ०७३ बाट भोजपुर जिल्ला पार्टी इन्चार्ज तत्कालीन माओवादी केन्द्र

–२०७५ सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य

–हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य । (“रातोपाटी” बाट) ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*