तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा कार्यान्वयनमा पहल गर्छु : मोक्तान

संवाददाता
८ माघ २०७९, आईतवार ११:३८

मकवानपुर । बागमती प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बागमती प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रकृया अघि बढिसकेको भन्दै यसकालागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । शनिबारदेखि हेटौंडामा शुरु भएको दुईदिने सोनाम ल्होछार साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले सो विषय कार्यान्वयनकालागि आफूले थप पहल गरिने बताएकी हुन् ।

‘सोनाम ल्होछार–२८५९ भव्य रुपले सफल पारौं, ग्रेन गे धिम (भवन) खरिद अभियानलाई पुरा गरौँ ।’ भन्ने नारासहित यस पटक घेदुङको नेतृत्वमा विभिन्न जिल्लामा केन्द्रीकृत कार्यक्रम भइरहेको छ ।

यस वर्ष बाघ वर्गलाई बिदाई गर्दै बिरालो वर्गलाई स्वागत गरि ल्होछार (नयाँ वर्ष) मनाइदैं छ । मन्जुश्रीले विकास गरेको चिनियाँ खगोल शास्त्रमा आधारित चन्द्रपात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदछन् । नेपालमा मात्र नभएर तामाङ समुदायको बसोबास रहेका विश्वका थुप्रै देशहरूमा सोनाम ल्होछार मनाउँदै आएका छन् ।

तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८५९ ह्योई ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुर, तामाङ कलाकार संघलगायत जिल्लाका विभिन्न संघसस्थाको पहलमा आयोजित महोत्सव आइतबारसम्म चल्ने छ ।

पहिलो दिन शनिबार गायक लोकेन लामा, गायक तथा संगीतकार अशोक तामाङ, साम्तेन लामा, सोयल थिङ, बालिका तामाङ, बुद्ध मोक्तान लगायत मकवानपुर तामाङ कलाकार संघको सांगीतिक प्रस्तुति रहेको थियो ।

आइबार गायक तथा संगीतकार टिका बमजन, गायक धिरेन लामा, अविराम मोक्तान, सुजना रुम्बा, बिमला थिङ, लगायत मकवानपुर तामाङ कलाकार संघका चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा तामाङ मौलिक भेषभुषा लामा, बोन्बो (झाँक्री), ताम्बा, डम्फुरेको झाँकी प्रदर्शनी, मौलिक डम्फुरे गीतको प्रस्तुति, मौलिक खानाका स्टलहरु रहेका छन् भने भाग्यशाली उपहार कार्यक्रम समेत रहेको छ ।

उद्घाटन समारोहमा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, घेदुङका संघीय सदस्यहरु मेम्बर लो, सुभाष सिन्तान, लक्ष्मी पाख्रिन, हेटौडा – १५ नम्बर वडा अध्यक्ष एवम् घेदुङका संघीय सदस्य सुनिल मोक्तान, कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, किराँत राई यायोख्याबाट केबी राई, नेपाल मगर संघ मकवानपुरबाट सन्देश मगर, थारु कल्याणकारिणी सभा मकवानपुरबाट हरिलाल चौधरी, वाईबा तामाङ समाज मकवानपुरकी सचिव बिष्णुकुमारी वाईबा लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन सत्र नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यवाहक अध्यक्ष कालु घलानको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*