पत्रकारमाथि कुटपीटको विरोधमा रंगशालाबाहिर धर्ना, महासंघद्वारा कारवाहीको माग

संवाददाता
२४ मंसिर २०७६, मंगलवार १६:०१

काठमाडौं । प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकारहरुले काठमाडौंको दशरथ रंगशालामा धर्ना दिएका छन् । त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले धर्ना दिएका हुन् ।

उनीहरुले रिपोर्टिङका क्रममा पटक पटक दुर्व्यवहार गरेको भन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन समारोह बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

दशरथ रंगशालाबाहिर टिकट किनेर आएका दर्शकमाथि प्रहरीले कुटपिट गरिरहेको तस्वीर खिच्ने क्रममा प्रहरीले पत्रकार चापागाईंमाथि कुटपिट गरेको थियो । पत्रकारहरु दशरथ रंगशालाबाहिर प्लेकार्डसहित धर्नामा बसेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गरी पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरलगायत प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरी पत्रकार सुमन चापागाईंमाथि प्रहरीले कुटपिट गरेको घटनाको विरोध गरेको छ । पत्रकारमाथि प्रहरी अधिकारीकै नेतृत्वमा प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको महासंघले
बताएको छ ।

घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*