नेवाः ताम्सालीङ घोषणा नभए सोही दिनबाट विद्रोह शुरु हुने

संवाददाता
२४ पुष २०७६, बिहीबार १०:२५

मकवानपुर । प्रदेश नम्बर ३ लाई नेवाः ताम्सालीङ प्रदेश नामाकरण नगरिए अन्य नामाकरण शुरु भएको दिनबाट विद्रोह शुरु हुने नेपाल तामाङ घेदुङ प्रदेश ३ का अध्यक्ष काजिमान थिङले चेतावनी दिएको छ ।

बुधबार नेवाः ताम्सालीङ समन्वय समितिको आयोजनामा हेटौंडामा भएको प्रदर्शन तथा धर्ना पछिको कोणसभामा बोल्दै थिङले सो चेतावनी दिएको हो । विगतमा भएको जनआन्दोलन, जनयुद्धका क्रममा थुप्रै आदिवासी जनजाति नागरिकले आफ्नो पहिचानको नीम्ति जीवन बलिदान दिएको उनले बताए । प्रदेश नम्बर ३ को संसदले जनताको उक्त मागको सम्बोधन गर्नुपर्ने अन्यथा अन्य नामाकरण भएको दिन पहिचान पक्षधरहरुकालागि विद्रोहको निम्तो हुने उनले बताए ।

यस्तै सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा कोरियाका पूर्व राजदूत कमान सिं लामाले विगतमा पहिचान र आदिवासी जनजातिका अधिकारका मागहरुमाथि सहमति, सम्झौताहरु भए पनि पटक पटक सरकार, राज्यबाट धोका हुँदै आएको बताए ।

कोणसभामा नेवाः दय दवु प्रदेश ३ का संयोजक उमेश स्थापित, सघीय समाजवादी फोरम, मकवानपुरका अध्यक्ष शुभरत्न गोले लगायतले भनाई राखेका थिए । बुद्धचोकबाट शुरु भएको र्याली सहितको प्रदर्शन प्रदेश ३ संसद भवन अघि पुगेर १ घण्टा धर्ना बसेको थियो ।

यसैबीच नेपाल तामाङ घेदुङ एवम् नेवाः तामसालीङद्वारा भोली (शुक्रबार) हेटौंडामा वृहद् प्रदर्शन हुने भएको छ । शुक्रबार र शनिबार (पौष २५ र २६ गते) नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम् अधिवेशन हेटौंडामा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*