चोरीका घटना बढेपछि हेटौंडा – १५ मा टोल गस्ती शुरु

मकवानपुर । हेटौंडा – १५ का फरक फरक स्थानहरुमा केही दिन अघिदेखि चोरीका घटना बढ्न थालेपछि वडा अन्तर्गत रहेका टोल विकास संस्थाहरुले रात्री टोल गस्ती शुरु गरेको छ ।
वडा अन्तर्गत रहेका जाँते, पनेश टोल विकास संस्थाले केही दिन अघिदेखि रात्री टोल गस्ती शुरु गरिएको हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था समन्वय समितिका सदस्य तथा टोल विकास संस्था १५ नम्बर वडा समन्वय समितिका इन्चार्ज हर्करत्न लामाले जानकारी दिए ।
रात्रीको समयमा लागु औषध सेवन गरेर सार्वजनिक बाटोमा हिँड्ने स्थानियहरुलाई अवरोध गर्ने, अप्ठ्यारो पार्ने, मदिरा सेवन गरी होहल्ला, झैझगडा गर्नेहरुमाथि निगरानी गरी आवश्यक कानुनी कारवाहीका लागी प्रशासनलाई सहजिकरण गर्ने इन्चार्ज लामाले बताए । पछिल्लो समय वडाका विभिन्न स्थानमा लागु औषध सेवन गरी झैझगडा गर्ने र स्थानियलाई अनावश्यक दुःख दिने क्रम बढेको बताइएको छ ।
वडाभित्र विभिन्न स्थानमा सञ्चालित पसल, चिया पसल, मदिरा पसल, होटलहरु राती ९ बजेपछि बन्द गर्न टोल विकास संस्थाले स्थानिय सबैमा अनुरोध गरेको छ ।
वडाको रातोमाटे, सुकौली, ठूलो सुकौली क्षेत्रमा यस अघिदेखि नै टोल विकास संस्थाको नेतृत्वमा रात्री गस्ती हुँदै आएको छ ।