‘सबैको साथ, सहयोगले कोरोनालाई जित्न सफल भएको छु’

संवाददाता
२४ भाद्र २०७७, बुधबार १२:४३

मलाई सुरूवातदेखि नै प्रत्यक्ष भेटघाट, फोन, म्यासेन्जर एवम् फेसबुकमार्फत् हौसला बढाउनु हुने र मलाई प्रत्यक्ष हेरचाह गर्नुहुने सम्पूर्ण आदरणीय, व्यक्तित्वहरू, जनप्रतिनीधिहरु, स्वास्थ्यकर्मीज्यूहरु, सुरक्षाकर्मीहरु, साथीभाई, आफन्त परिवार एवम् छिमेकी दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक नमन् , सम्मान प्रकट गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।

वास्तवमा यो कोरोना भाईरस ( कोभिड-१९) लाग्ने बित्तिकै मान्छेको ज्यान गैहाल्ने होइन यसले दीर्घ रोगी, कमजोर स्वास्थ्य, रोग प्रतिरोधात्मक शक्ति कम भएको व्यक्तिलाई छिटो असर गर्ने र पूर्ववत् रोगकै कारणबाट ज्यान गएको मेरो बुझाई रहेको छ । सामान्य अवस्थाको व्यक्तिलाई यो रोग लागेमा नियमित शारीरिक व्यायम र सन्तुलित भोजन तथा जडीबुटीहरुको सन्तुलित मात्राको सेवनले हामी कोरोना मुक्त हुन सक्छौं । हामी यस सँगसगै स्वास्थ्य सावधानी समेत अपनाउनु जरुरी छ ।

समुदाय स्तरमा यो कोरोना भाइरस फैलिएसँगै समुदायका मानिसहरू त्रसित हुने र कोरोना सङक्रमितलाई हेलाको दृष्टिले हेर्ने र अमानवीय व्यवहारहरू गर्ने गरेको पाइएको छ । यसो नगर्न म सम्पूर्णलाई विनम्र अनुरोध गर्छु, किनभने यो कोरोना भनेको कुनै जघन्य अपराध होइन यो सामान्य रोग हो ।

यसले विश्वव्यापी महामारीको रुप लिएको र यसको कुनै किसिमको औषधि एवम् भ्याक्सिन पत्ता नलागिसकेको र यो रोगको भाइरसको प्रकृति पनि बुझिनसकेको कारण आम समुदाय भयभीत हुनु स्वाभाविकै हो तर स्वास्थ्य साबधानी पालना गर्दै खानपिनमा ध्यान दिन सक्यौं भने यो रोग लाग्नबाट बच्न सकिन्छ । हामी सबै मिलेर कोरोना विरुद्धको लडाइँमा लाग्नुपर्छ समुदायमा सौहार्द वातावरण सृजना गराउने र सामाजिक दुरीलाई घटाएर भौतिक दूरी कायम गर्नु पर्दछ ।

साथै नेपाल सरकार, प्रदेश सरकार एवम् स्थानिय सरकार मिलेर पीसीआर परीक्षणको क्षमता बढाउन, रिपोर्ट स्वाव सङ्कलन गरेको २४ घण्टामै नतिजा निकाल्ने व्यवस्था, हाल रहेको क्वारेन्टाइन र आइसोलेशनलाई अझ व्यवस्थित गर्न र रिपोर्ट प्राप्त भएपछि सम्बन्धित व्यक्ति स्वयम्लाई नेगेटिभ र पोजिटिभको जानकारी गराउने व्यवस्था मिलाउन समेत हार्दिक अनुरोध गर्न चाहन्छु ।

सदस्य
कुमार रुम्बा

स्वतन्त्र विद्यार्थी युनियन
हेटौंडा क्यामपस
ठेगाना – हेटौंडा–१५ भोर्ले

(यसअघि भदौ ५ गते कोरोना पुष्टि भएको उनको भदौ १८ गते रिपोर्ट नेगेटिभ आएपछि प्रशासनबाट शील  गरिएको उनको घर बुधबारदेखि थप स्वास्थ्य लाभको कामना गर्दै हटाइएको हो । सो क्रममा हेटौंडा उपमहानगर कार्यपालिका सदस्य पातालीमाया गोङबा, नेकपा हेटौंडा–१५ वडाकमिटीका अध्यक्ष दिपेश थिङ, वडासदस्य पर्साबहादुर भुजेल, चुरियामाई स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर ब्लोन, टोल विकास समितिका प्रतिनीधि गणेश वाईबा, स्वयम्सेविका ममता लामा लगायतको उपस्थिति थियो ।)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*