सोचेझैं छैन कोरोना, के हो यथार्थ ?

संवाददाता
२५ भाद्र २०७७, बिहीबार १४:१८

डा. शेरबहादुर पुन

एक जना परिचितले कोरोना लागेपछि आफ्नो अनुभव सुनाउँदै भने, ‘ओहो कोरोना संक्रमित भएर आइसियूसम्म पुगेर बाँचियो । यसलाई सामान्य सोचेर बेवास्ता नगरौं ।’

फेरि अर्का संक्रमित पुरूषको भने अनुभव बेग्लै छ । उनले सुनाउँदै भने, ‘कोरोना संक्रमण हुँदैमा खासै डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाए आफैं ठीक भएर जान्छ ।’

यस्तै सामाजिक सञ्जालमा एक जनाले ’कोरोना भन्ने नै छैन, यो खाली हल्ला मात्र हो’ भनेर पनि लेखे ।

माथि उल्लेखित फरक फरक धारणा अहिले धेरैले पढेका, सुनेका वा देखेका होलान् । सरसर्ती हेर्दा कोरोनाको बारेमा जसले जसरी भोगे वा भोगेका छैनन् त्यसरी नै आ-आफ्ना धारणा बनाइरहेको पाइन्छ ।

अर्थात् नेपालमा कोरोना संक्रमणलाई माथि उल्लेख गरेझैं तीन तरिकाले बुझ्ने गरिएको छ ।

यसलाई बुझ्न मत पनि सोही अनुसार बाझिएको पाइन्छ ।

पहिलोपटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो । कोरोनाको उद्गमस्थल मानिएको चीनको वुहानबाट आएका एक जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो ।

त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो । जब इटालीले कोरोनाले ठूलो मानवीय क्षति व्यहो¥यो, त्यसपछि नेपालीबीच थप त्रास सृजना हुनथाल्यो ।

सो समयमा चीनबाट फर्केका भन्नेबित्तिकै जो कोहीप्रति कोरोनाको शंका गर्ने र विस्तारै दूरी बढाउने र तिरस्कार गर्ने जस्ता काम भए । त्यो बेला नेपालमा कोरोनाको थप संक्रमित नभए पनि इटाली, स्पेन, फ्रान्स,बेलायत आदि युरोपेली देशहरूमा कोरोनाको भयावह स्थिति हुँदै जाँदा नेपालमा पनि त्रास बढ्न थालेको थियो ।

तर कोरोनाको दोस्रो केस देखिनेबित्तिकै लकडाउन सुरू भयो ।

सायद यो अवस्थासम्म आइपुग्दा माथि उल्लेख गरेझैं नेपालमा त्रास अत्यधिक बढी सकेको थियो, फलस्वरूप अकस्मात् लकडाउन सुरू गरियो ।

यो लकडाउनलाई झन्डै तीन महिनाको हाराहारीसम्म निरन्तरता दिइयो । योबीच खासै कोरोनाको केस देखिएन ।

मानिसहरूमा एक प्रकारको राहत महशुस भएको थियो । नेपालीमा कोरोनाको भय केही हदसम्म कम भएको पनि देखिन्थ्यो । तर अप्रत्याशित रूपमा भारतबाट आउनेहरूको चाप र उनीहरूमा गरिएको परीक्षणले कोरोना संक्रमित देखिन सुरू भयो ।

उनीहरू संक्रमित भए पनि अधिकांशमा लक्षण थिएन । यो विश्वको लागि नै अलि फरक प्रकृतिको कोरोना थियो जसलाई ’साइलेन्ट कोरोना भाइरस’ को नाम दिइएको थियो ।

त्यतिन्जेल नेपालमा जति विश्वमा नै त्यति ठूलो संख्यामा लक्षणविहीन कोरोना भाइरसको बारेमा वर्णन र कुनै तथ्य सार्वजनिक भएको थिएन ।

नेपालमा भने कोरोना भाइरस विदेशमा देखिएजस्तो भयावह रहेनछ भनिन थालियो । यी लक्षणविहीन संक्रमितहरूबाट कोरोना भनेको खासै डराउनु नपर्ने रहेछ भन्ने सन्देश जान थाल्यो ।

योभन्दा अगाडि नेपालीमा देखिएको त्रासमा धेरै हदसम्म कमी आउन थाल्यो । भारतबाट भित्रिने नेपालीको संख्या बढ्दै जाँदा संक्रमितको संख्याको ग्राफ उकालो लाग्यो भने ।

फेरि आउनेहरूको चाप कमी भएसँगै संक्रमितको ग्राफ पनि क्रमशः घट्दै गयो ।

संक्रमितहरू अधिकांशमा लक्षणहरू नदेखिनु, मानवीय क्षति नगन्य देखिनु, संक्रमितको ग्राफ कम हुँदै जानु र संक्रमितहरू नाचगान गर्दै आइसोलेसनबाट डिस्चार्ज भएको दृश्यले संक्रमितहरू स्वयं र नागरिकहरूमा कोरोना खासै सोचेजस्तो डरलाग्दो होइन रहेछ भन्ने सन्देश गएको प्रष्ट देखिन्थ्यो ।

यसैबीच नेपाल सरकारले अचानक लकडाउन अन्त्यको घोषणा ग¥यो ।

कोरोना केही होइन रहेछ भन्ने मनोवैज्ञानिक प्रभाव परिरहेको अवस्थामा अचानक लकडाउन खोलिँदा मानिसहरू जनस्वास्थका मापदण्डको वास्ता नगरी बाहिर हुलमुलमा जाने गरेको देखियो । जसले गर्दा कोरोनाको जोखिम बढ्दै गयो ।

काठमाडौंलगायत नेपालका ठूला सहरहरूमा मानिसहरूको धेरै आवतजावत हुँदा जोखिम बढ्दै गएको हो ।

जस्तैः वीरगञ्जमा पनि संक्रमण बढ्दै जान गयो । केस मात्र बढेन लक्षणसहितका संक्रमितहरू देखिन थाले । यसरी लक्षणसहितका संक्रमित बढ्दै जाँदा मृत्यु पनि बढ्दै गयो ।

विस्तारै संक्रमितहरूलाई आइसियूको अभाव हुन थाल्यो ।

उक्त समयमा भने संक्रमितहरूको अनुभव अघिल्लो समयको संक्रमितहरूको जस्तो थिएन ।

विस्तारै संक्रमितहरूले कोरोना भनेको घातक रोग रहेछ, यदि समयमा सतर्कता नअपनाए मृत्यु समेत हुनसक्छ भनेर भन्न थाले ।

काठमाडौंमा पनि ’हटस्पट’ भनिएका ठाउँलगायत भारतबाट समेत मानिसहरूको आगमन हुँदा जोखिम ह्वात्तै बढ्यो ।

सुरूमा काठमाडौं बाहिरबाट आउनेहरूमा देखिने गरेको कोरोना विस्तारै स्थानीयमा पनि देखिन सुरू भयो ।

यहाँ पनि लक्षण सहितका संक्रमित देखिएको र आइसियू भरिँदा कोरोनालाई सामान्य नठान्न भनिन थालियो ।

यस्तो सन्देश वा चेतावनी स्वयं स्वास्थ्य मत्रालयले समेत दिन थाल्यो । चिकित्सकहरूले आफैं पनि सघन उपचारमा पर्दा कोरोनालाई बेवास्ता नगर्न सुझाव दिन थाले ।

जनस्वास्थ विज्ञहरूले नेपालमा पर्याप्त भेन्टिलेटर सहितको आइसियूको अभाव रहेको र यसको लागि आवश्यक थप पहल गर्न सुझाव दिन थाले ।

तर लामो समयको लकडाउनको कारणले मानिसमा आर्थिक, सामाजिक तथा मानसिक तनाब बढ्दै गयो । संक्रमित भएर कडा लक्षणको अनुभव गरेका, लक्षणविहीन र सामान्य लक्षण मात्र देखिएका संक्रमितबीच कोरोनाको बुझाइ बाझिन थाल्यो ।

यो अहिलेको सबभन्दा विवादित विषय हो । कतिले यसमा पुँजीवादी र विश्व स्वास्थ्य संगठनको षडयन्त्र छ भनेर शंका पनि गर्न थाले ।

यस्तो भ्रम प्रायः सामाजिक सञ्जालमा तीव्र फैलिरहेको छ । जसले गर्दा मानिसमा जनस्वास्थका मापदण्ड लागू गराउनका लागि थप चुनौती खडा भएको देखिन्छ । र यस्तो भ्रम चिर्न भरपुर काम पनि भएको देखिँदैन ।

विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार लगभग ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण सामान्य देखिने गर्दछ ।

१४ प्रतिशतमा लक्षण कडा हुँदा उपचारको लागि अस्पताल भर्ना हुनुपर्ने र झन्डै ५ प्रतिशतलाई सघन उपचार कक्षको आवश्यकता पर्दछ ।

यसलाई हेर्दा ८० प्रतिशत संक्रमितले यो सामान्य भाइरस रहेछ भनेर बुझ्नेछ र १४ प्रतिशत संक्रमितले बेवास्ता नगर्न सल्लाह दिनेछ भने झन्डै ४ प्रतिशत संक्रमितले यो निकै डरलाग्दो र प्राणघातक रोग हो भन्ने छन् ।

नेपालमा भने कोरोना देखिएको सुरूआती समयमा ९९ प्रतिशतभन्दा बढी संक्रमितहरूमा लक्षण नदेखिँदा र औषधि पनि खासै दिनु नपर्दा यो भाइरसप्रति बेवास्ता गरेको पाइन्छ ।

तर पछिल्लो समयमा आइसियूमा सघन उपचार आवश्यक पर्ने संक्रमितहरूको संख्या बढ्दै जाँदा र मृत्यु हुनेहरूको संख्या पनि तुलनात्मक रूपमा बढेकोले समाजमा कोरोनाको त्रास बढ्दै गएको देखिन्छ ।

कोरोना संक्रमण भई नसकेको वा संक्रमण भैसकेर पनि थाहा नपाएका अर्को समूहले भने कोरोना भन्ने भाइरस नै छैन भनेर सामाजिक सञ्जालमा व्यापक प्रचार गरेको पाइन्छ । यस्ता घटना प्रायः विदेशमा रहेकाहरूले बढी गर्ने गरेको पाइन्छ ।

नेपाल र विश्वको तथ्यांक हेर्दा अधिकांश कोरोना संक्रमितमा लक्षण सामान्य वा लक्षणविहीन नै भएको पाहिन्छ । तसर्थ, संक्रमित हुँदैमा आत्तिनु पर्ने भने होइन । तर बेवास्था गर्नु पनि हुँदैन किनभने कसलाई कतिबेला संक्रमण गर्छ र कसमा अत्यधिक कडा रूप प्रस्तुत हुन्छ भनेर थाहा हुँदैन । (डा.पुन, संयोजक क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल)  साभार – “सेतोपाटी” बाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*