दुई “पाइलट” को झगडामा पिसिएका कुलमान

संवाददाता
३१ भाद्र २०७७, बुधबार १९:०३

अमित ढकाल

प्रधानमन्त्री केपी ओलीले नचाहेपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ कम्तिमा अहिलेका लागि बिदा भएका छन् ।

प्रधानमन्त्री ओली कुलमानको पुनः नियुक्तिको पक्षमा छैनन् भन्ने पहिल्यैदेखि थाहा थियो । तै पनि कुलमानले गरेका काम र आम नागरिकमाझ उनको जुन छवि बनेको छ, त्यस कारण पनि अन्तिममा उनको पुनः नियुक्ति हुन्छ भन्ने धेरैको अनुमान थियो ।

कुलमानलाई दोस्रो कार्यकालका लागि नियुक्ति नदिनुपर्ने कारण के–के हुन्, बालुवाटारले बताएको छैन । अनौपचारिक कुराकानीमा भने कुलमानप्रति बालुवाटारका तीन मुख्य गुनासा वा आरोप छन् ।

पहिलो, लोडसेडिङ हटेको र प्राधिकरणले गरेका सम्पूर्ण कामको जस उनले एक्लै लिन खोजे । आफू मात्रै ुहिरो पल्टिनु खोजे । राजनीतिक नेतृत्वलाई कुनै जस दिएनन्, टेरेनन् ।

दोस्रो, आफ्ना पक्षमा मिडिया परिचालन गरे। प्राधिकरणको पैसामा विज्ञापन दिएर आफ्नो प्रचारप्रसार गराए ।

तेस्रो र सबभन्दा संगीन आरोप — कुलमानले बिजुलीका ठेकेदारहरूलाई भनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आर्थिक स्रोत जुटाइदिए ।

मैले कुलमानलाई पहिलोपटक भेटेको २०१७ डिसेम्बरमा हो । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको एउटा सत्रमा कुलमान र गगन थापा वक्ता थिए । म त्यो सत्रको मोडरेटर थिएँ ।

त्यो बेला कुलमान प्राधिकरणमा आएको करिब चार महिना मात्र भएको थियो । उनी आएपछि लोडसेडिङ जादुमयी ढंगले हराएको थियो। लोडसेडिङ हटेकोमा धेरै महिनासम्म त मानिसहरूलाई विश्वास पनि भएन । अर्को वर्ष हिउँदमा पनि लोडसेडिङ नभएपछि मात्र आममानिसलाई अब नेपालमा लोडसेडिङ हुन्न भन्ने पत्यार लाग्यो । कुलमानको “जय–जयकार” सुरू भएको त्यसपछि हो ।

नेपाल लिटरेचर फेस्टिभलको त्यो सत्रभरि नै लोडसेडिङ अन्त्य गरेको जस कुलमानले आफूले लिएनन् । बरू आमनागरिकले गरेको सहयोगलाई जस दिए, विभागीय मन्त्री र प्रधानमन्त्रीलाई जस दिए । पूर्वसरकारदेखि वर्तमान सरकारसम्मको प्रयासले लोडसेडिङ अन्त्य सम्भव भएको बताए ।

त्यो बेला लोडसेडिङ हट्नुमा विगतका प्रयासको पक्कै भूमिका थियो । भारतबाट आयातीत बिजुलीको भूमिका थियो । नेपालमै निजी क्षेत्रबाट सञ्चालित नयाँ आयोजनाबाट थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । कुलमानलाई भाग्यले पनि अलिकति साथ दिएको थियो — हिउँदे खोला पग्लिएर ४०–५० मेगावाट बिजुली थप उत्पादन भएको थियो ।

त्यसो भए त्यो लोडसेडिङ अन्त्य हुनुमा कुलमानको कुनै भूमिका थिएन त ? वा कति थियो ?

एउटा कुरा पक्का छ — कुलमानले व्यवस्थापकीय कौशल नदेखाएका भए त्यो वर्ष र त्यसपछि पनि केही वर्ष लोडसेडिङ अन्त्य हुने थिएन । लोडसेडिङ त्यति चाँडै अन्त्य हुन्छ भन्ने राजनीतिज्ञ, प्राधिकरणकै कर्मचारी र आममानिस कसैलाई विश्वास थिएन ।

कुलमानले आफ्नै कौशल र व्यवस्थापकीय क्षमता प्रयोग गरेर तीनवटा काम गरे ।

पहिलो, हिउँदको सुख्खा याममा खोलामा पानी कम हुन्छ र बिजुली कम उत्पादन हुन्छ । तर, नेपालमा पाँचवटा ुडेली पिकिङु आयोजनाहरू छन् — कालीगण्डकी, चिलिमे, मस्र्याङ्दी, माथिल्लो र मध्य–मस्र्याङ्दी । यी आयोजनामा रात र दिनभरी पानी जम्मा गरेर साँझ बिजुलीको माग धेरै भएका समय चलाउन मिल्छ । यी सबै आयोजना पूर्ण क्षमतामा चलाउँदा ३५० मेगावाट जति थप बिजुली उत्पादन हुन्छ ।

कुलमानअघि कसैले पनि ती आयोजनालाई राति र दिनभरी पानी जम्मा गरेर साँझ माग धेरै भएका बेला पूर्ण क्षमतामा चलाएका थिएनन्। त्यो आइडिया कसैले लगाएन । हिउँदको सुख्खा याममा पनि ती आयोजनामा जम्मा १५० मेगावाट जति मात्र बिजुली उत्पादन हुन्थ्यो ।

ती आयोजनाको मर्मतसम्भार तालिका पनि कुलमानले बदले । प्रत्येक सुख्खा याममा आयोजनाका जेनेरेसन प्लान्ट मर्मत गर्नुपर्छ । पहिले सबै आयोजनामा मर्मतसम्भार एकैपटक चल्थ्यो । उनले एउटा आयोजनामा मर्मत चलिरहेका बेला अर्को आयोजना मर्मत नगर्ने निर्णय गरे । रोटेसनमा मर्मतसम्भार चलेपछि सुख्खा याममा पनि विद्युत उत्पादन धेरै प्रभावित भएन । ओभरटाइम दिएर, तीन सय प्रतिशतसम्म भत्ता दिएर उनले मर्मतसम्भारमा लाग्ने समय ४५ दिनबाट घटाएर १६र१७ दिनमा झारे । त्यसले थप बिजुली उत्पादन गर्न मद्दत पु‍¥यायो ।

उनले यी आयोजनासँगै ९० मेगावाटको कुलेखानीलाई पनि आवश्यकताअनुरूप मंसिरदेखि नै राम्ररी चलाए ।

“माघ–फागुनलाई साँच्नुपर्ने आयोजना अहिल्यै चलाएर कुलमान हिरो हुन खोजिरहेको छ । माघमा लोडसेडिङ झनै विकराल हुन्छ” भन्दै कतिले विरोध गरे ।

प्राधिकरणमा कुलमानअघिका कार्यकारी निर्देशक मुकेश काफ्लेले त्यो बेला एउटा टिभी कार्यक्रममा घोषणा गरे — “माघमा पनि कुलमानले लोडसेडिङ गरेनन् भने म आजीवन सार्वजनिक पदमा बस्दिनँ ।”

त्यो माघ र त्यसपछिका माघमा पनि लोडसेडिङ भएन ।

कुलमान प्राधिकरणमा आउँदा चुहावट २६–२७ प्रतिशत थियो । चुहावट सधैं आलोचनाको विषय थियो । दातृ निकायले चुहावट नघटाए बिजुली विकासमा सहयोग नगर्ने सर्त राख्थे । नेपालले सर्त त मान्थ्यो तर चुहावट घटाउन सक्दैनथ्यो । कुलमानले चुहावट क्रमशः घटाउँदै १६ प्रतिशतमा झारे ।

त्यो बेला विद्युत चोरीको समस्या कतिसम्म थियो भन्ने उदाहरण भक्तपुर जिल्ला हो । त्यहाँ ४० प्रतिशत चुहावट थियो । अहिले ६ प्रतिशतमा झरेको छ । ठूल्ठूला उद्योगले कर्मचारीसँग मिलेर विद्युत चोरी गर्थे । चुहावटमा यो नै सबभन्दा ठूलो समस्या थियो ।

कुलमानले कडाइ गरे । प्राधिकरणका करिब १५–१६ जना कर्मचारीलाई चुहावटमा सहभागी भएकामा जेल नै पु‍¥याए ।

प्राविधिक चुहावट पनि घटाउन उनले ट्रान्समिसन र डिस्ट्रिब्युसन लाइन सुधारे । पुराना ट्रान्सफर्मर र सबस्टेसन मर्मत गरे । नयाँ पनि निर्माण गरे । यी सबै कामबाट सुख्खा याममा पनि झन्डै ५००–६०० मेगावाट थप बिजुली आपूर्ति गर्ने क्षमता प्राधिकरणको बढ्यो ।

यिनै सुधारले पछिल्ला वर्षमा पनि लोडसेडिङ हटाउन मद्दत ग‍¥यो ।

कुलमानले मागको पनि राम्रो व्यवस्थापन गरे। भारवहन केन्द्रमा कैयन साँझ आफैं बसेर विभिन्न सहरमा मागअनुसार बिजुली आपूर्ति र माग नभएका ठाउँमा कटौती गरे । यी सबै कामको कुल फल हो लोडसेडिङ अन्त्य ।

यी काम मैले मात्र गरेँ भनेर कुलमानले सार्वजनिक रूपमा भनेको कम्तिमा मैले सुनेको छैन । उनले प्राधिकरण टिमलाई, मन्त्रालयलाई, प्रधानमन्त्रीलाई सधैं जस दिएका छन्, जसरी माथिको भिडिओमा दिन्छन् ।

एउटा कुरा भने साँचो हो — आममानिसले लोडसेडिङ हट्नुको जस कुलमानलाई मात्र दिए । “चोरहरूको लाम” मा राम्रो काम गर्ने मानिसको खोजी मिडियालाई पनि सधैं हुन्छ । त्यसैले मिडियाले पनि उनका कतिपय काम बढाइचढाइँ ग‍¥यो होला । आलोचनात्मक दृष्टि कमै राख्यो होला । त्यसले पनि राजनीतिज्ञ, उनका प्रतिस्पर्धीलाई पक्कै जलन गरायो । अहिले बालुवाटारबाट आएको जलनको गन्ध पनि त्यसकै परिणाम हो ।

मलाई कताकता लाग्छ, लोडसेडिङदेखि बिजुलीको क्षेत्रमा भइरहेका अन्य काम र सुधारको जस कुलमान एक्लैले लिए भन्ने इष्र्या लगभग सबै राजनीतिज्ञका मनमा छ ।

जहाँसम्म कुलमानले आफ्ना पक्षमा मिडिया परिचालन गरे, प्राधिकरणको पैसामा विज्ञापन दिएर आफ्नो प्रचार–प्रसार गराए भन्ने आरोप छ, त्यो बेतुकको कुरा हो । काखमा लुटुपुटु पर्ने आफ्ना गोजीका मिडियाबाहेक मूलधारका मिडिया त्यसरी परिचालन गर्न सम्भव हुन्थ्यो भने यो सरकारको किन यति धेरै आलोचना हुन्थ्यो ? सबभन्दा धेरै विज्ञापन त सरकारसँगै छ ।

साँचो के भने, आजको मूलधारको मिडियाले कहिलेकाहीँ गल्ती गरेर वा कुरा नबुझेर कसैको विषयमा बेमुनासिव आलोचना गर्ला । तर, कसैले भनेर मिडियालाई उसका पक्षमा लेखाउन सम्भव छैन । यो कुरा टेस्ट गर्न मन छ भने सरकारले कुलमानलाई नै गुरू थापेर मिडियामा आफ्ना पक्षमा लेखाउन एकपटक प्रयास गरे भयो ।

बिजुली विकास र स्वच्छ ऊर्जाबारे मलाई धेरै नै चासो छ । यी विषयमा मैले पनि धेरैपटक लेखेको छु । कुलमानलाई फोन गरेर सोधेको छु । तर, पछिल्ला चार वर्षमा कुलमानले मलाई फोन गरेर आफूले यस्तो काम गरेँ भनेर कहिल्यै भनेका छैनन् । लेखिदिने अनुरोध त कुरै छाडम् ।

जहाँसम्म विज्ञापनको कुरा छ, नाफामा गएका सरकारी संस्थानमध्ये सबभन्दा थोरै विज्ञापन दिनेमा विद्युत प्राधिकरण पर्छ । यसपालि बोर्डले निर्णय गरेर वार्षिकोत्सवको एक दिनबाहेक प्राधिकरणले आफ्नो प्रचारप्रसारका लागि विज्ञापन दिएको मलाई थाहा छैन । नगरेको कामको जस लिन कुलमानले विज्ञापन गरेको मलाई जानकारी छैन ।

बरू प्रधानमन्त्री केपी ओलीका त्यस्ता विज्ञापनले कुनै दिन नेपाली छापा र अनलाइन मात्र होइन, बिजुलीका पोलसम्म रंगिएको याद ताजै छ ।

सामाजिक सुरक्षा कार्यक्रमको अवधारणा धेरै अघिदेखि थियो । त्यसको कानुन अर्कै सरकारका पालामा पास भएको थियो । तयारी अरू कसैले गरेको थियो । तर, जब कार्यक्रम उद्घाटन गर्ने बेला आयो, नेपालमा नयाँ युग सुरू भएको भन्दै, त्यसको प्रणेताका रूपमा प्रधानमन्त्रीलाई देखाउने ध्येयका साथ छापाका प्रमुख पृष्ठ र अनलाइन ढाक्ने गरी उनका फोटा टाँसिए । बरू मूल सन्देश हरायो । मानिसहरूले के को विज्ञापन हो भनेर बुझेनन् ।

जसले यसरी आफ्नो प्रचार खोज्छ, त्यसलाई अर्काको चर्चाले इष्र्या हुन्छ !

बिनातयारी सुरू गरिएको नेपाललाई नयाँ युगमा लैजाने उक्त कार्यक्रम अहिले लथालिंग छ । उठेका जायज प्रश्नको उत्तर दिन नसकेका कारण र समस्या समाधान गर्न नसक्दा निजी क्षेत्र सामाजिक सुरक्षा कार्यक्रममा जान हच्किएको छ । नेपाललाई नयाँ युगमा लैजाने कार्यक्रम तयारी गर्ने मन्त्री गोकर्ण विष्टलाई प्रधानमन्त्रीले कार्यक्रम सुरू भएको केही महिनामै अक्षमको आरोप लगाएर मन्त्रीबाट हटाइदिए ।

बालुवाटारको तेस्रो आरोप झनै गम्भीर छ ।

प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्ति पाएका कुलमानले उनलाई नै सहयोग गरेको र आर्थिक भरथेग गरेको बालुवाटार ठान्छ । प्रचण्डका अरू आर्थिक स्रोत कमजोर भएको अवस्थामा बिजुलीका ठेक्कापट्टाबाट आउने लाभ नै उनको आर्थिक “लाइफ लाइन” भएको प्रधानमन्त्री निकटहरूको आरोप छ ।

बालुवाटारको यो आरोप कति साँचो हो, त्यो हामीले भन्न सक्ने कुरा भएन । यसले नेकपारूपी जहाजका दुई पाइलटबीच गडेर रहेको अविश्वास र तिक्तताको सिकार कुलमान बनेको संकेत गर्छ । त्यो अविश्वासले नेकपाको जहाजलाई त क्षति पु‍¥याएकै छ, मुलुकलाई पनि त्यसको बाछिटा कसरी लागिरहेको छ भन्ने देखाएको छ ।

यसले प्रधानमन्त्री ओली र प्रचण्डबीच हालै भएको सुलहको पनि खिल्ली उडाएको छ । एकअर्कालाई भित्तामा पु‍¥याउने र कमजोर बनाउने प्रयत्न कसरी जारी छ भन्ने उदांगिएको छ ।

कुलमानमाथि लगाइएका आरोप बालुवाटारको होइन भने उनलाई अर्को कार्यकालका लागि किन नियुक्ति गरिएन भन्ने प्रधानमन्त्रीले प्रस्ट पार्नुपर्छ । कुनै पनि प्रशासक वा कर्मचारीलाई कुनै खास जिम्मेवारीमा नियुक्ति गर्ने वा नगर्नेमा जायज कारण हुन सक्छन् । तिनमा टेकेर राज्यले उनीहरूलाई नियुक्ति गर्न वा नियुक्ति भएकालाई हटाउन पनि सक्छ ।

तर, ती कारण जायज हुनुपर्छ । जनताको नासोका रूपमा शासनसत्ता चलाउनेले स्वैच्छाचारी हिसाबले वा पूर्वाग्रहमा टेकेर कसैलाई लाखा र पाखा गर्न पाउँदैन । राम्रो गरिरहेको कर्मचारीले थप काम गर्ने हौसला र जिम्मेवारी पाउनु उसको वैध हक हुन्छ । किनकि यो मुलुक उसको पनि हो । यो मुलुकमा नैसर्गिक हक उसको पनि कसैको भन्दा कम हुन्न । र, त्यो हकको कदर गर्नु राजनीतिज्ञको जिम्मेवारी हो ।

पहिलो नम्बरमा भएका डिआइजी नवराज सिलवाललाई पन्छाएर चौथो नम्बरमा भएका जयबहादुर चन्दलाई शेरबहादुर देउवाले आइजिपी बनाउन खोज्दा हामीले त्यही भएर विरोध गरेका थियौं । त्यो सिलवाल मन परेर वा चन्द मन नपरेर गरिएको विरोध थिएन ।

राम्रो काम गरिरहेका कुलमानको त्यो “वैध हक” नकार्न प्रधानमन्त्रीले पनि सकेको देखिन्न । आफूले गरेका काम र आफ्ना आगामी योजनाबारे बताउन कुलमानले प्रधानमन्त्रीलाई धेरै अघिदेखि भेट्न खोजेका थिए । दुई–तीन महिनादेखि कोशिस गरे पनि बालुवाटारले समय दिएको थिएन । गएको शनिबार उनलाई प्रधानमन्त्रीले भेट्ने भनियो, फोन आउँछ भनियो । उनी कुरेर बसे, फोन गएन ।

उनलाई अर्को कार्यकालका लागि नियुक्त गर्नुपर्ने जायज कारण नभएको भए प्रधानमन्त्रीले उनलाई भेटेर यी–यी कारणले तिमीलाई म नियुक्ति गर्दिनँ भन्न सक्थे । कारण जायज भएको भए त्यो नैतिक बल उनलाई प्राप्त हुन्थ्यो ।

तर, कुलमानका आँखामा हेरेर ुतिमीलाई दोस्रो कार्यकालका लागि नियुक्ति गर्दिनँु भन्न सकेनन् । जनताका आँखामा हेरेर प्रधानमन्त्रीले झन् के भन्लान् !

सत्ता नजिकका कतिले भन्छन् — अरू मान्छे छैनन् र कुलमानलाई दोहो‍¥याएर नियुक्ति दिनु ?

भ्रष्टाचारमा लिप्त र हरेक काण्डमा मुछिएका नेता घुमिफिरी दशकौंसम्म सांसद बन्न, मन्त्री बन्न मिल्ने । “सम्धी”हरू सातपटक फरक–फरक पोस्टमा सरकारी नियुक्ति खान मिल्ने । तर, राम्रो काम गर्ने क्षमतावान् मानिस दोहोरिन नमिल्ने ?

दोहोरिने के कुरा, चिलिमे आयोजनामा राम्रो काम गरिरहेका कुलमानलाई तत्कालीन एमाले मन्त्री राधा ज्ञवालीले हटाएर पार्टीनिकट मानिसलाई जिम्मेवारी दिएकी होइनन् ?

पछिल्ला तीन वर्षमा प्रधानमन्त्री ओलीले क्षमता नभएका आफूनिकट मानिस, जिल्लावासी र सार्वजनिक रूपमै आफ्नो चाकरी गर्ने र अरुलाई अशिष्ट भाषामा गाली गर्ने कति मानिसलाई राजनीतिक नियुक्ति दिएका छन् ?

नेकपाले दिन खोजेको सन्देश के हो ?

हाम्रो राज्यमा क्षमतावान् कुलमानहरूको काम छैन, अवसर पाउन हाम्रो “हनुमान” नै हुनुपर्छ भन्ने हो ? (आलेख साभार – “सेतापाटी” बाट ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*