माफ गर्नू महिषासुर !

संवाददाता
१६ कार्तिक २०७७, आईतवार १८:१७

सरिता तिवारी

यतिखेर इतिहास र मिथकहरूको चिहान खनेर निकालिएका समानान्तर विमर्शसँग आँखा जुधाउने हिम्मत गर्नु छ । दुर्गा (स्त्रीशक्ति) को आदर्शीकरण गर्दा उनका दुश्मनका रूपमा व्याख्या गरिएका असुर नेताको राक्षसीकरणले पोलेको घाउ बिसाउनु छ । मलाई भारतीय (नेपालीसमेत) मूलनिवासीहरूले आफ्ना नायक मानेका महिषासुरमार्फत सम्पूर्ण उत्पीडित समुदायसँग माफी माग्नु छ ।

पछिल्ला वर्षमा भारतका मूलनिवासी समुदायले असोज शुक्ल पूर्णिमाका दिन अर्थात् आज महिषासुर स्मरण दिवस (शहादत दिवस) मनाउने गरेका छन् । भारतीय आदिवासी जनश्रुतिअनुसार, महिषासुर यहााका मूलवासी (अनार्य) हरुका संरक्षक, प्रतापी राजा थिए ।

तिनलाई विदेशी आर्यहरुले छलपूर्वक रुपसी स्त्री दुर्गाको उपयोग गरेर हत्या गरेका हुन् । असत्य (दैत्य) माथि सत्य (देव) को जित भनिएको दसैं (विजयादशमी, दशहरा) पर्व विजयीहरुको एकपक्षीय मिथकको निरन्तरता हो भन्ने दाबीसहित आफ्ना पूर्वज महिषासुरको स्मरण गरिने यो दिवस नेपालको जनकपुर वरिपरि पनि मनाउन थालिएको छ । मिथक र इतिहास माथिको पुनर्खोज र विमर्शका सिलसिलामा प्रस्तुत छ यो लेख ः

वामपन्थी विचारको कविले पनि देवीलाई मुक्तिदाता मानेर महिमामण्डन गर्दै यस्तो कविता लेख्ने ?’

संवत् २०७२ सालमा ‘प्रश्नहरूको कारखाना’ छापिँदा ‘हे देवी ∕’ कवितालाई लिएर कतिपय कवि र समीक्षक साथीहरूले जिज्ञासा राख्दा मैले दिने साझा उत्तर हुन्थ्यो, ‘यो देवीका मिथकहरूमा वर्णित रूप र भाष्यको दुरुस्त सकार होइन बरु विनिर्माण हो ।’

कविले आफूले लेखेको कवितामाथि प्रस्टीकरण दिँदै बस्नु, कवितामाथि आएका टिप्पणीको प्रतिरक्षामा बोल्दै हिँड्नु अनुचित हो भन्ने लाग्दालाग्दै पनि यदाकदा यसरी उत्तर दिने धृष्ट प्रयत्न गरिन्छ । कतिपय अवस्थामा आउने टिप्पणी बहुतै हतारले र कविताको कथ्यभित्र डुबेर निस्कने प्रयत्नबिना नै प्रकट भइदिने सम्भावना हुन्छ र त्यस्तो अवस्थामा उत्तर दिने जोखिम मोल्नुपर्ने पनि हुन्छ । अन्यथा कविले आफ्नै कविताको प्रतिरक्षा गरिरहनु राम्रो होइन ।

यो कवितालाई केही मार्क्सवादी, प्रगतिशील क्षेत्रका पाका लेखकहरूले समेत धार्मिक मिथकको आदर्शीकरण गरिएको ‘उत्तरआधुनिक कविता’ भन्न भ्याए । उनीहरूलाई आजसम्म कुनै उत्तर दिने धृष्टता गरिएको छैन । एकताका नेपाली साहित्यमा ‘उत्तरआधुनिक’ (पोस्ट मोडर्न) जति चल्तीको प्रिय र अप्रिय शब्द कुनै थिएन । यही शब्दका आडमा एक–अर्कालाई मित्र र शत्रु खेमा ठान्ने चलन पनि कम्ती थिएन । अहिले अलि सेलाएको छ । इतिहासको अन्त्य, विचारको अन्त्य, महाआख्यानहरूको अन्त्य भन्नेहरू नै संकटाभिमुख भएर हो कि ? ‘उत्तरआधुनिक’ शब्दको खेतीपाती चलाउने शत्रु–मित्रु दुवै क्याम्प चापचुप छन् । त्यसैले उत्तर दिने टन्टो गर्नु केही काम नपाएर गरिने उद्यम हो भन्ने ठानियो र चुपै लागियो ।

‘हे देवी’ हिन्दु धार्मिक प्रथा र विश्वासहरूमा आधारित एउटी ‘विलक्षण शक्तिशाली’ देवीको बिम्बमा लेखिएको कविता भए पनि त्यसले ‘वीरोचित’ गुणधारी एउटी मात्रै देवीको आह्वान गरेको थिएन (छैन) । समग्रमा, कवि(ता)को मनसाय थियो— स्त्री अस्तित्व र अस्मिताको प्रश्नलाई युगहरूको फेरो मारेर पुराणका, आख्यानका फ्रेम र त्यसभन्दा बाहिर देवी रूपको पदच्युतीकरणका बर्बर यथार्थलाई निर्मम रूपले बेपर्दा गर्नु । कविका रूपमा यस पंक्तिकारले चाहेको कुरो यत्ति थियो ।

‘हे देवी ∕’ कविताको रचनागर्भमा एउटा कविता यात्रा शृङ्खलाको रमाइलो प्रसंग छ । हामी गैंडाकोटको मौलाकालिका मन्दिर र त्यहाँबाट देखिने चितवन–नवलपुर खण्डको दृश्यावलोकनका लागि निम्तिएका थियौं । यो मन्दिर सेनवंशी राजाले स्थापित गरेको भन्ने कथ्य छ । मन्दिरसँग जोडिएको ऐतिहासिकताका कारण पनि गैंडाकोट, भरतपुर क्षेत्रका मानिसहरू यसप्रति गर्व गर्छन् । यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागे–पुगेको प्रयास गरिरहेका छन् । तर, यति नजिकैको धार्मिक पीठमा उक्त कविता यात्राभन्दा अघि मैले पाइलै हालेकी थिइनँ । नजानुको कारण धार्मिकस्थलमा जान्नँ भन्ने त्यस्तो खास संकल्पचाहिँ थिएन ।

लौ, जाऊँ न त भन्ने लाग्यो ।

कविहरूसँग रमाइला गफ गर्दै उक्लिइयो । भरे साँझको खाना र बास मन्दिर परिसरमै भयो । लेख्नु थियो, तत्–स्थानिक कविता । उत्तिखेरै ∕ मलाई कालिका मन्दिर परिसरभित्र कालिका अर्थात् देवीमाथि नै लेख्ने इच्छा जाग्यो । कसैले प्रकृतिमाथिका अनुभूति लेखे, कसैले पर्यावरणसँग जोडिएका विचार लेखे । कसैले प्रेमका भाव फुराए । मैले फुराएँ, ‘अन्तिम लडाइँ’ ।

पछि त्यसैको शीर्षक फेरेर ‘हे देवी !’ राख्ने मन भयो ।

बाघमाथि विराजित देवीका तस्बिर देख्दै र तिनै देवीलाई बाल्यकालदेखि नै देउतीमाता भन्दै ढोग्न, पुज्न सिकेको अवचेतन अनि देवी माताका संस्करणहरू अर्थात् हिजो र आजको समाजका स्त्रीहरूमाथि पितृसत्ताले मच्चाएको कोलाहल र हिंसा देख्दै, सुन्दै चाल्नी परेको चेतन, अवचेतन र चेतनको यही द्वन्द्वको साँघुरो तर भयंकर कठोर ढोकाबाट निस्किएर जे बन्यो, त्यो यही कविता थियो ।

भोलिपल्ट कवि गोष्ठीमा सुनाइयो । ‘कविता भव्य छ है !’ गोष्ठीमा सँगै रहेका देशका नाम चलेका कवि साथीहरूले तारिफ गर्न कन्जुसी गरेनन् । म मख्ख परें ।

२०७२ सालमा ‘प्रश्नहरूको कारखाना’ संग्रहमा संकलित भएर निस्किएपछि ‘हे देवी !’ केही खास कविहरू र समीक्षकका लागि बढ्तै ‘खास’ बन्न पुग्यो । यही कविताले पंक्तिकारलाई ‘स्टन्ट–कवि’ देखि ‘अतिवादी कवि’ सम्मको बिल्ला लगाइदियो । यसैका कारण ‘युद्धपिपासु’, ‘तालिबानी’ र ‘आईएसआईएस’ सम्मका विभूषणहरूले सम्बोधित हुने दुर्लभ अवसर पनि पाइयो । यति धेरै आलोचित हुनुपर्ने कारणमा देवीको आदर्शीकरण र लैंगिक उत्पीडनको हिंसात्मक बदलाका लागि आनुष्ठानिक शैलीले आह्वान गरिएको भन्ने आक्षेप मात्रै चाहिँ थिएन । खास आलोचनाको तारो थियो— कवितामा पितृसत्ताको ‘सिग्नेचर अङ्ग’– पुरुष जनेन्द्रियलाई गरिएको प्रतीकात्मक विम्बीकरण । जहाँनेर भनिएको छ –

यतिबेला तिम्रो योनीमा हाम्फालेर

सारा लाजहरूले गरेका छन् आत्महत्या

र, स्थापित भएको छ

मात्र पाँच इन्चको ‘बर्बर’ वस्तुको सत्ता

जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ

हरिया दाँत ङिच्याएर गरिरहन्छ

यो फोहोरी सत्ताको पहरेदारी (पृ.३५) ।

स्वस्थ वा अस्वस्थ रूपमै किन नहोस्, यस कवितामाथि जेजस्ता समालोचना, आलोचना र आक्षेप आए पनि पितृसत्ताको असली रूप र स्त्री समाजले इतिहासदेखि निरन्तर खपेको प्रकोपमाथि काव्यिक प्रतिरोध गर्ने प्रयत्नमा म कहीँ–कतै अस्पष्ट थिइनँ भन्नेमा आज पनि स्पष्ट छु ।

तर, यही कवितामाथि यतिखेर मलाई केही आफ्नै आलोचनाहरू सार्वजनिक गर्नु छ । स्त्री अस्तित्वको लामो इतिहास र यसभित्र गर्भस्थ कतिफय त्रूर सत्य लेख्दा म कसरी मिथ– मिथ्याको भुमरीभित्र फस्न पुगेँ ! महामातृका, सर्वशक्तिशाली स्त्री छविको चित्रण गरिरहँदा विजेता पक्षधरहरूले लेख्दै–सुन्दै–सुनाउँदै आएको महिषासुर मर्दनको कथा दोहो¥याएर मेरो कलमले कसरी एउटा सिंगो उत्पीडित समुदायमाथि अन्याय गर्न पुग्यो !

यतिखेर इतिहास र मिथकहरूको चिहान खनेर निकालिएका समानान्तर विमर्शसँग आँखा जुधाउने हिम्मत गर्नु छ । दुर्गा (स्त्रीशक्ति) को आदर्शीकरण गर्दा उनका दुश्मनका रूपमा व्याख्या गरिएका असुर नेताको राक्षसीकरणले पोलेको घाउ बिसाउनु छ । मलाई भारतीय (नेपालीसमेत) मूलनिवासीहरूले आफ्ना नायक मानेका महिषासुरमार्फत सम्पूर्ण उत्पीडित समुदायसँग माफी माग्नु छ ।

सामान्यतः इतिहास शक्तिशालीका पक्षमा लेखिँदै आइएको पाइन्छ । मिथक र सांस्कृतिक प्रथासँग गाँसिएका प्रचलित कथा पनि आर्थिक–सामाजिक शक्तिसंरचना र सम्बन्धबाट धेरै हदसम्म प्रभावित हुने गरेका उदाहरण प्रशस्त छन् । देव, देवीका रूपमा उत्पीडक (विजयी) समुदायकै गौरवीकरण गर्ने र पीडितहरूका कारुणिक कथालाई चाहिँ पूर्वजन्मको कुकर्मको फल, देवतालाई चुनौती दिएको बदलामा भोग्नुपरेको नियति आदि अर्थमा शत्रुकरण गरी प्रचार गरिने व्याख्या वैदिक साहित्यदेखि पुराण र अनेक आख्यानमा वर्णित छन् ।

धर्मशास्त्र र मिथकहरूमा देवता र राक्षस भनी विभाजित वर्गमध्ये च्याट्टको अनुहार परेका, गोरा, सुकुमार र कोमल रूपका देव अनि प्रायः कालो र रातो वर्णका, बडाबडा र मोटा जुँगा पालेका, कपाल घुँघुरो परेका, ठूलो र कठोर ज्यानका चाहिँ दैत्य (दानव, असुर) का रूपमा चित्रित गरिएको सबैले देखेकै छौं । यसो गर्दा आर्य (आगन्तुक समुदाय) र अनार्य (मूलनिवासी समुदाय) को वास्तविक इतिहास छलिएको र भारतीय उपमहाद्वीपको उत्तर पश्चिमी भागमा आगन्तुक आर्यहरूले गरेको हमला (त्यहाँबाट भगाइएका वा दासका रूपमा दमित अवस्थामा राखिएका द्रविडसँगको ऐतिहासिक युद्ध) लाई देवासुर संग्रामका रूपमा अतिरञ्जित गरिएको प्रसंगबाट इतिहासमाथिका थुप्रै आलोचनाहरू अभिव्यक्त भइरहेका छन् । दुर्गा–महिषासुर युद्ध र असत्य (महिषासुररदैत्यपक्ष) माथि सत्य (दुर्गारदेवपक्ष) को विजयका आख्यानमाथि आइरहेका आलोचनाहरू तिनैमध्येका खरा आलोचना हुन् । तिनलाई नपत्याउनुपर्ने वा खारेज गर्नुपर्ने सांस्कृतिक आधारहरू छैनन् । पत्याउनका लागि भारतको झारखण्ड प्रदेशका असुर जातिको इतिहासलगायत जवाहरलाल नेहरू विश्वविद्यालयका उत्पीडित समुदायका विद्यार्थीले सन् २०११ देखि निरन्तर चलाउँदै आएको महिषासुर शहादत दिवसका साक्ष्य मात्रै छैनन् । गडरिया, कोइरी, अहिर र लोध जातिले आफ्ना वंशदेवका रूपमा गर्ने मैकासुर पूजनको संस्कृतिलाई प्रकाशमा ल्याउने जनइतिहास लेखनका प्रयत्नहरू पनि छन् । त्यसो त लिखित साहित्य, अभिलेख र ग्रन्थहरूका भौतिक आधार छैनन् भन्दैमा जनसंस्कृति र आम वर्गको इतिहासको दाबी झूटो हो भन्न सकिन्न ।

देवी, दुर्गाका कथा कति ‘महिषासुर मर्दन’ सँग सम्बद्ध छन् र कति स्त्री नेतृत्वको आद्य कृषि–समाजका स्त्रीसिद्धान्तीय इतिहाससँग जोडिएका छन्, यो पनि यसैमा नाभिबद्ध छ । खोतल्दै जाँदा इतिहास र मिथकको घालमेलमा कहाँनेरबाट कुरा बिग्रेको हो, पत्तो लाग्छ । विजयादशमी के हो ? नौरथा, नौदुर्गाका शक्तिकथासँग महिषासुरको दैत्यकरण गरिएका कथा कसले, किन चलाएका हुन् ? यसबारे ‘महिषासुर ः एक जननायक’ पुस्तकलगायत पछिल्ला विमर्शहरूसँग ठोक्किएपछि नै म यसरी आफ्नै कविताको आलोचना गर्ने विन्दुमा उभिन आइपुगेकी हुँ ।

‘हे देवी !’ कविताको समग्र वैचारिकी स्त्रीमाथिका युगयुगका उत्पीडनको चक्रलाई आजको अवस्थासम्मै ल्याएर प्रस्तुत गर्ने उद्देश्य वरिपरि घुमेको छ । तर, यसले शक्ति–सम्पदाका शासकले रचेको महिषासुरको दैत्यकरणलाई सदर गर्न पुग्यो ! यद्यपि यो मेरो एक्लो दिमागले गरेको भूल होइन, मैले पढेको, जानेको र म बानी परेको समग्र मिथ्या–मिथको हो ।

यस अर्थमा मेरो ‘मिथ ज्ञान’ मिथ्याज्ञान हुन पुगेको छ । मलाई यसमा गहिरो खेद र अफसोस छ । म मेरो प्रकाशित रचना पो सच्याउन सक्दिनँ, आफूभित्र शासन गरेर बसेको मिथ्याज्ञानलाई त यथासमयमै सच्याउने प्रयत्न गर्न सक्छु नि !

कविता भन्नु सारमा विचार हो तर कविताको विचार एक्लो र निरपेक्ष छैन । कवितामा कविको मानस पनि सँगै जोडिन्छ । कवि–मानसमा अवचेतनको गहिरो साम्राज्य बाँचेको हुन्छ । दिमागका भित्ता भित्ताका बाल्यकालदेखि सिकाइएको, सुनाइएको कथाजगत् र अनुभवहरूको समग्र पुञ्ज अवचेतनमा पनि सक्रिय रहने ‘अटोसेभ्ड लाइब्रेरी’ जस्तो भएर बसेको हुन्छ । अर्जित ज्ञान त दिमागका थिगारहरू र पत्रहरूलाई हैट गर्ने, जागो जागो भन्ने चौकीदारजस्तो मात्रै हो । यो लेखपढ गर्ने, साहित्य लेख्ने वा कलाकारी गर्ने मानिसहरूमा मात्रै होइन, सबैमा उसैगरी लागू हुने प्रक्रिया हो भन्ने लाग्छ । लेख्ने प्रक्रियामा दिमागभित्रको ‘अटोसेभ्ड लाइब्रेरी’ स्वस्फूर्त चलायमान हुन्छ र त्यसले भकाभक लेखाइलाई खाँचो पर्ने सूचनाहरू दिन थाल्छ । यस्ता सूचना सही भए भने मात्रै कविता सही ठहरिन्छ अन्यथा कवितामा केही न केही गड्बडी भैहाल्छ । यो मेरो व्यक्तिगत अनुभव हो ।

कवि, लेखक समाजका (अघोषित) ज्ञाननिर्माता हुन् । यिनले बोल्ने र लेख्ने कुराले आम समुदायको सोचाइलाई प्रभाव पार्छ । त्यसैले कवि लेखकले दिमागमा राख्ने सूचनाहरूको तथ्यसंग्रह विशिष्ट खालको हुनुपर्ने रहेछ । त्यही मात्रामा अर्जित ज्ञानको अद्यावधीकरण पनि भइरहनुपर्ने रहेछ । कविले वर्तमानका विषयमा मात्रै जागरुक भएर नपुग्ने रहेछ । इतिहास र मिथकसँग जोडिएका प्रचलित भाष्य र आख्यानहरूको सत्यतथ्य जाँच्ने भरिसक्के प्रयत्न गर्नैपर्ने रहेछ । त्यसो गरिएन भने हाम्रा कविता वैचारिक र भावनात्मक अपराधका अस्त्र बन्न सक्ने रहेछन् । समयलाई ‘मिस लिड’ गर्ने सवारीका पांग्रा पनि बन्न सक्ने रहेछन् । जे खोज्यो त्यो भेटिने आजको सूचना र ज्ञानका माध्यमहरूको सहज–उपलब्ध–युगको कविलाई यस्तो अपराधी र ‘मिसलिडर’ बन्ने छुट छैन ।

यस विषयले माग्ने थप बहस गर्दै गरौंला, अहिलेलाई अनार्य, मूलनिवासी समुदायका नेता, जननायक महिषासुरसँग दुई हात जोडेर माफी माग्छु, बस् । कम्तीमा, मनको एउटा बोझ हल्का होस् । (साभार – ‘इकान्तिपुर डट कम’ बाट /तस्वीर – ‘गुगल’ बाट । )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*